बीएस राणासँग त्यो १५ मिनेट यात्रा

                                              सेताेबाघ चलचित्रमा कलाकार डा. बीएस राणा

मातृका दाहाल
बागबजार स्थित होटल हार्दिकमा २०७५ पुस १५ गते बिहान साथी शिशिर पोखरेलसँग चियाको चुस्कीमा गफिदै थिएँ । रत्नराज्य लक्ष्मी क्याम्पसमा सबैभन्दा मिल्ने र औंलामा गन्दा अटाउँने दौंतेरी मध्येको एक हो शिशिर । पुतलीसडक÷बागबजार आसपास बाटो पर्दा उसँग हार्दिक होटलमा पसेर चिया पिउने लत नै छ भन्दा पनि हुन्छ । पुस १५ गतेचाही नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको साधारण सभामा विहान ८ बजे नै हार्दिक होटल पुगीसकेको थिएँ । 
शाखाका अध्यक्ष शन्तराम विडारीले कार्यक्रममा आउँनु पर्छ है जसरी पनि भनेर कर लाएपछि हार्न सकिन । एकछिनका लागि भएपनि सबैसाथीसँग भेट हुन्छ भन्दै ललितपुरको चाँगाथली स्थित कोठाबाट चीसोमा हान्निएर हार्दिक होटल पुगेको थिएँ । होटलको हल नजिकै बसेर शिशिरसँगै गफमा रमाइरहेको थिएँ । त्यहीक्रममा पत्रकार गगन बिष्ट पनि आइपुगे । मातृका भाइ, सन्चै ? भन्दै मुस्कुराएर हात अघि बढाए ।
मैले पनि नमस्ते है दाइ भन्दै हात मिलाए । आफ्नै सुरमा उनी अरु साथीसँग बोल्न थाले । म शिरिसँगै पूर्ववत् गफिँदै थिए । एक्कासी अग्लो कदका बूढामान्छे सामुन्ने देखेँ । एकछिन त अलमलमा परेँ । यी बूढा कसरी पत्रकारको कार्यक्रममा यहाँ आइपुगे भनेर मनमनै सोच्न थालेँ । मनमा कौतुहल जाग्यो । ती बूढा मान्छे कुर्सि तानेर अलि पर एक्लै बसे । मुखमा ल्वाङ÷सुपारी चपाएझैं मुख चलाएको तर्फ ध्यान गयो ।
हातमा छाता पनि बोकेका ती बूढा मानिस बाहेक मेरो ध्यान अन्त गएन । शिशिरलाई सोधेँ–“ओइ, यी बूढा त डा. वीएस राणा होइनन् वरिष्ठ कलाकार, किन यहाँ आएका रहेछन् ?” मेरो कौतुहलता मिसिएको  जिज्ञासामा शिशिरले त्यति ध्यान नै नदिएजसरी भन्यो, “हुन नि, के भयो त तँलाई ।” मेरो जिज्ञासाप्रति फिस्से जवाफ दिएर शिशिर अन्यत्रै मोडियो । तर मलाई बीएस राण किन आएका रहेछन् भनेर जान्ने कौतुहल सकिएको थिएन ।
उनीतिर घरीघरी ध्यान मोडिरहन्थ्यो । तर म सँग धेरै समय नभएका कारण केहीबेर बूढाबारे मनमनै कौतुहल बोकेर निस्कने निधो गरेँ । त्यही दिन १० बजेबाट नेपाली सेनाले ७ दिन लामो ‘रक्षा संवाददाता अभिमूखीकरण कार्यक्रम (डिकप) आयोजना गर्दै थियो । कार्यक्रम स्थल सैनिक मूख्यालय भद्रकाली जान हतारहतार हार्दिक होटलबाट बाइक पार्किङतिर मोडिएँ ।
त्यसदिन पञ्जा लगाउँन बिर्सिएछु । सारै चीसो महसुस भएर हातमा औंला तताउँन मुखले फूफू गर्दै थिएँ । बीएस राणा म भएतिरै हेरिरहेका रहेछन् । मलाई पहिलेकै जस्तो खुलदुलीले फेरी घेरिहाल्यो । यतिबेलासम्म बूढासँग मेरो बोलचाल भएको थिएन । र बूढा मेरो मोटरसाइकल नजिकै आएर ‘बाबु कता जाने होला ?’ भनेर मसिनो तर लरवरिएको स्वरमा भने । म पनि खुसीले गदगद नै भएँ ।
देशका होनहार र सम्मान गर्न लायक कलाकार त्यो पनि काँचको पर्दामा मात्रै देखेका कलाकार अगाडी आएर सम्वाद गर्दा खुसी नलाग्ने कुरै थिएन । मैले उनलाई सोधेँ, ‘हजुर कताँ जाने होला ?’ वीएस राणाले फेरी भने, ‘बाबु मलाई बस लाग्ने ठाउँसम्म पु¥याइदिनु न ।”
म अवाक बनेँ । यस्ता होनहार र वरिष्ठ कलाकार साँच्चै सार्वजनिक यातायातमा आउजाउ गर्छन् त भन्ने प्रश्नपनि मनमनै पलायो । तर बाहिर प्रकट गर्ने स्थिति थिएन ।
उनका अभिनित अधिकांश चलचित्रमा धनाड्य र शिक्षित बाबुको भूमिका निर्वाह गर्ने तिनै कलाकार बीएस राणाले साँच्चै नै म सँग सार्बजनिक यातायात सम्म पुग्न लिफ्ट मागे । मैले हुन्छ भनेँ । बूढा मान्छे, लौरोको पनि काम गर्ने खालको छाता समाउँदै बाइकमा चढे । हार्दिकबाट बाहिरिदै ‘कहाँसम्म पु¥याउँ होला हजुर ?’ भन्दै संवाद सुरु गरेँ । भने, “बाबु कता जाने होला ? म त नारायणगोपाल चोक (महाराजगञ्ज) जाने, सार्बजनिक यातायात लाग्ने ठाउँसम्म जाउँ न ।’
उनको कुरासँगै हार्दिक होटलबाट रत्नपार्कतिर बाइक मोडेँ ।  उमेरले बा समानका कलाकारलाई आफ्नो मोटरसाइकलमा राखेर केहीबेर भएपनि यात्रा गराउँन पाउँदा म खुसीले गदगद थिए । मनमनै बूढालाई आरएनएसी (अहिले एनएसी भन्छन्) पु¥याएर म आफ्नै कार्यक्रमतिर जान्छु भन्ने लागेको थियो । सोधेँ, ‘कतातिर ओर्लिदा उचित होला हजुरलाई ?’ उनले भने, ‘बाबुलाई जता अनुकुल हुन्छ, त्यही ओरालिदिनुस न ।’
मैले ‘कान्तिपथबाट गाडी चढ्दा हुन्छ होला हजुरलाई’ भनेर जिज्ञासा राखेँ । उनले हुन्छ भने । त्यसबेलासम्म हामी आरएनएसीबाट बीरअस्पताल नजिकै पुगीसकेका थियौं । त्यहीक्रममा मैले हजुरलाई त टीभीमा मात्रै देखेको आज प्रत्यक्ष भेट भो भने । अनि उनले ‘मलाई चिन्नु हुन्छ बाबुले’ भनेर प्रह्न गरे । डा.साव जस्तो कलाकारलाई कस्ले नचिन्ला र?’मैले भने । प्रसंग अन्यत्रै मोडियो । सैनिक मञ्चतर्फ देखाउँदै उनले मलाई सोधे, ‘के  को भीड रैछ भित्र, बाबुलाई थाहा होला ?’ खै हजुर ? भन्दै म पन्छिएँ ।
त्यस बेलासम्म बाइक जमल पुगीसकेको थियो । कार्यालय समय भएर होला बसको भीडभाडले ट्राफिक चाप बढ्दो थियो । बहादुर भवन नजिकै पुगेर बाइक साइड लाएँ । २ जना ट्राफिक प्रहरी बहादुर भवनको गेट नजिकै उभिएर सबारी आवत्जावत गर्न इशारा दिइरहेका थिए । तर मैले सडक छेउमा बाइक रोकेँ , अरुबेला त्यस ठाउँमा बाइक रोक्न प्रहरी वा ट्राफिक प्रहरीले अनुमति दिदैनन् । सायद मसँगै रहेका वृद्ध मानिस मोटरसाइकलबाट ओरालेको देखेर प्रहरी मौन बसे । बरु नजिकैका ट्राफिक प्रहरी आएर मसँगै सबार वृद्ध मानिसलाई ओराल्न मद्दत गरे ।
म पनि मोटरसाइकल छेउ लगाएर महाराजगञ्ज जाने बस रोक्न तर्फ लागे । काठमाडौंमा कार्यालय समयमा त सीट भएको बस पाउँनै मुस्किल । तर संयोगले म र ट्राफिक प्रहरी सँगै उभिएर बस रोक्यौं । ठूलो बसमा सीट पनि मिल्यो । ‘ल हजुर बिस्तारै जानुहोला है।’ मैले भने । सीटमा चढाएर ओर्लिने क्रममा मलाई मलाई कुममा धाप मार्दै बीएस राणाले भने, ‘बाबुको जय होस, भलो होस ।’
यति भन्दै उनी महाराजगञ्जतर्फ लागे । म ओर्लिएर सैनिक मुख्यालय तर्फ लागेँ । मनमनै उनलाई बाइकमा केही समय सबार गराउँदा खुसी अनुभूति गर्दै थिएँ भने अर्कातर्फ यी कलाकारले किन सार्वजनिक सबारी चढेका होलान ? आफ्नै सबारी नभएरै होला त ? भन्ने प्रश्न उब्जियो । केहीदिन सम्म त्यो प्रश्नले मनमा डेरा जमाइरह्रयो । त्यसपछि त्यत्तिकै त्यो प्रसंग हराएको थियो ।
तर शुक्रबार तिनै वृद्ध मानिस जो देशका होनहार कलाकार हुन्, उनको निधनको खबरले मन निकै चीसो बनायो । हुन त उनीसँग न चिनजान थियो, न उनको घरायसी पृष्ठभूमि जान अवगत । करिव १ महिना अघि जसलाई मैले १०÷१५ मिनेट आफ्नो मोटरसाइकलमा लिफ्ट दिनु बाहेक उनीसँग कुनै नाता सम्वन्ध पनि होइन । उनै कलाकार बीएस राणा ७६ बर्षको उमेरमा यस धर्तीबाट विदा भए ।  उनको निधन शुक्रबार साँझतिर अनलाइनखबरडटबाट थाहा पाएँ । र उनको कलाकारिताको भूमिका र वास्तविक अवस्थाबारे दिप्सन लुइटेलले अनलाइनखबरमा लेखेको सामग्री पढेपछि पो उनको कलाकारिताको धनाड्य भूमिका र वास्तविक अवस्थाबारे जानकारी भो । युट्युवमा पटकपटक हेरिएका दक्षिणा, चीनो, दुइथोपा आँशु, नेपाली बाबु, सेतो बाघ लगायत दर्जनौं चलचित्रको अभिनयमा सधै जीवन्त भूमिकामा देखिनै उनै बीएसराणा ।
अव सम्झनामा मात्रै सीमीत भएका छन् । पत्रकार महासंघ काठमाडौं शाखाको साधारणसभाले जुराइदिएको बीएस राणासँगको मेरो त्यो १०÷१५ मिनेटको यात्रा सधै अमीट भएर बस्ने छ र बीएस राणाले बसबाट ओर्लिदा मलाई दिएको आशिर्वचन ‘जय होस, भलो होस’ले कहिल्यै साथ नछोडोस् । नेपाली चलचित्र जगतका मूर्धन्य व्यक्तित्व स्वर्गीय डा. बीएस राणाप्रति हार्दिक श्रद्दाञ्जली । 

Post a Comment

0 Comments